अनु शाह
मोरङको सलकपुरमा जन्मिएकी रेखा थापाले पर्याप्त चर्चा बटुलिन् । त्यसपछि त्यही स्थानमा जन्मिएकी अभिनेत्री तथा मोडल अनु शाह चलचित्र क्षेत्रमा प्रवेश गरिन् । उनको पहिलो चलचित्र ‘द युगदेखि युगसम्म’ ले चर्चा पायो र अनु शाह पनि चलचित्रमा जमिन् । उक्त चलचित्रपछि उनी एक दर्जनभन्दा बढी चलचित्रमा देखा परिसकेकी छिन् । सानै उमेरदेखि (वि.सं. २०६० बाट) मोडलिङ तथा स्टेज कार्यक्रमहरूमा नृत्य गर्ने अनु शाहले त्यही बेलादेखि म्युजिक भिडियोहरूमा समेत काम गर्न थालेकी हुन् । सलकपुरमा जन्मिए पनि काठमाडौंमा हुर्किएकी अनु शाहको दाँतमा भएको दाह्रालाई धेरैले उनको सुन्दरताको केन्द्र मान्ने गरेका छन् । ५ फिट ७ इञ्च अग्ली अनु अचेल चलचित्रमा काम गरिरहेकी छैनन् । किन त ? अनुले भनिन्– ‘भनेजस्तो र चाहेजस्तो प्रस्ताव नपाएसम्म म चलचित्रमा काम गर्दिनँ ।’ उनलाई म्युजिक भिडियोहरूमा भने मनग्य देख्न सकिन्छ ।
मम्मी, बाबा र भाइलाई असाध्यै माया गर्ने अनुले विवाहका बारेमा अझैसम्म केही नसोचेको बताइन् । ‘म उहाँहरूलाई यति माया गर्छु कि विवाह गरेर अरूको घर जाने कल्पनासम्म गर्न सक्दिनँ ।’ –अनुले भनिन् । प्रेमसम्बन्धका बारेमा अनु भन्छिन्– ‘प्रेम त गरिरहेकै छु नि मेरो परिवारलाई । मलाई अहिले अरू प्रेमको आवश्यकता छैन ।’ - सुव्रत आचार्य
तस्बिर : महेश प्रधान
मेकअप/हेयर : रचना शाक्य, केटिएम मेकअप स्टुडियो, टेकु
पहिरन : ह्वाइट फेदर फेसन हाउस, नागपोखरी