५ फिट ७ इन्च अग्ली एक युवती यतिबेला नेपाली चलचित्रमा नायिकाका रूपमा पदार्पण गर्न आतुर छिन् । केही वर्षअघिदेखि अमेरिकामा रहेर चलचित्र निर्देशनमा स्नातक गरिरहेकी उनी हुन्— २२ वर्षीया इशा गुरुङ । इशा अहिले टेक्सासको डालासस्थित एउटा विश्वविद्यालयमा फिल्म डाइरेक्सनमा स्नातकको अन्तिम तहमा अध्ययनरत छिन् । ‘पढाइ सकिनेबित्तिकै निर्देशनबाट होइन, अभियनबाट करियर प्रारम्भ गर्न चाहन्छु, इशाले साप्ताहिकसँगको हालैको भेटमा भनिन्— ‘त्यसका लागि मैले केही चलचित्रकर्मीसँग सामाजिक सञ्जालहरूमार्फत सम्पर्क गरिरहेकी छु ।’ चलचित्रको औपचारिक अध्ययन गरेकाले भविष्यमा यही विधामा करियर बनाउन सहज हुने इशाको अनुमान छ ।
पूर्वी भारतको आसाममा जन्मिएकी नेपालीमूलकी इशा बिदाको मौका पारेर नेपाल आइरहन्छिन् । पछिल्लो पटकको काठमाडौं भ्रमणका क्रममा केही नेपाली निर्माता–निर्देशकसँग भेटघाट गरेकी इशाले त्यस क्रममा फोटोसेसनसमेत गराउन भ्याइन् । प्रमोद खरेल, डेबिड शंकर, लोकेन लामासहित आधा दर्जन गायक–गायिकाका म्युजिक भिडियोमा अभिनय गरिसकेकी इशा फुर्सदमा यात्रा तथा नृत्य गर्न एवं नयाँ–नयाँ साथी बनाउन रुचाउँछिन् । मोडलिङ तथा अभिनयमा करियर बनाउन चाहने इशा भविष्यमा भने चलचित्र निर्देशकका रूपमा सक्रिय हुने सुरमा छिन् ।
कृष्ण भट्टराई
तस्बिर : कुवेर तामाङ/आर्टिस्टनेपाल डटकम