लक्ष्मी आचार्य
गायन तथा अभिनयलाई सँग–सँगै अघि बढाइरहेकी कलाकार हुन्– लक्ष्मी आचार्य । मोतीनगर, टीकापुरमा जन्मिएकी लक्ष्मीले लोक गायनमार्फत आफ्नो करियर प्रारम्भ गरेकी थिइन् । यस अवधिमा उनले गाएका आधा दर्जन दोहोरी गीत लोकप्रिय पनि भए । झन्डै आधा दशकदेखि गायन क्षेत्रमा सक्रिय लक्ष्मी पछिल्लो समय आफ्ना गीतका म्युजिक भिडियोमा आफैं अभिनय तथा नृत्य गर्न थालेकी छिन् । म्युजिक भिडियोमा उनको अभिनय कौशल देखेपछि चलचित्रका निर्देशकहरुसमेत उनीप्रति आकर्षित भए । अभिनयमा अब्बल भएकै कारण उनलाई नेपालीमात्र होइन भोजपुरी चलचित्रबाट समेत प्रस्ताव आउन थालेका छन् । त्यसैकारण अहिले उनी नृत्यको प्रशिक्षणमा सक्रिय छिन् । लक्ष्मीलाई केही अघि गाएको ‘मस्त जवानी...’ गीतले समेत चर्चामा ल्यायो । उनले यो गीतलाई आफ्नो पहिलो आइटम गीत भनेकी छिन् । लोकदोहोरीबाट गायन यात्रा प्रारम्भ गरेकी लक्ष्मी अब भने सुगम संगीतमा समेत सक्रिय हुने योजनामा छिन् ।
लक्ष्मी फेसनेवल छिन् । मौसमअनुसार फेसन गर्न रुचाउने भएकैले लक्ष्मीलाई जाडोभन्दा गर्मी मनपर्छ । केही महिनादेखि जिमसमेत धाउन थालेकी लक्ष्मी यो मौसममा स्वीमिङ पुलसमेत पुग्छिन् । उनलाई आफ्ना अंगमध्ये आँखा विशेष मन पर्छन् । ‘मेरो आँखालाई सेक्सी भन्नेहरू धेरै छन्, लक्ष्मी भन्छिन्– ‘त्यसरी मेरो प्रशंसा गर्नेहरूलाई धन्यवाद भन्ने गरेकी छु ।’ सामाजिक सञ्जालमा खासै नरमाउने लक्ष्मी समक्ष प्रेमदेखि विवाहसम्मको प्रस्ताव राख्नेहरूको सूची लामै छ । ‘त्यस्ता प्रस्ताव त दिनहुँ पाउँछु, लक्ष्मीकै शब्दमा करियर बनाउने बेलामा त्यसतर्फ ध्यान दिने समय भने मसंग छैन । पाँच फिट तीन इन्च अग्ली लक्ष्मी फुर्सदमा नृत्यमा रमाउँछिन् ।
कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
मेकअप : खुशी राई
लोकेसन : भृकुटीमण्डप