सुनिक्षा मैनाली
विगत दश वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी मोडल तथा अभिनेत्री सुनिक्षा मैनाली अहिले अभिनयमा समेत सक्रिय हुन थालेकी छिन् । सुन्दर मुहार तथा पाँच फिट सात इन्च अग्लो कदका कारण उनी अन्तर्राष्ट्रिय मोडलकै रूपमा स्थापित हुने क्रममा छिन् । व्यवस्थापनमा स्नातक उत्तीर्ण सुनिक्षाले अमेरिकामै छायांकन भएका एक दर्जनभन्दा बढी नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
सुनिक्षा अमेरिकामै बसोबास गर्ने गीतकार अम्बिका गुरुङका प्राय: सबै गीतका म्युजिक भिडियोमा छुट्दिनन् । त्यसक्रममा उनले रामकृष्ण ढकाल, राजेशपायल राई, दीपक लिम्बू, रीमा गुरुङ होडा, इन्दिरा जोशी, राज सिग्देल, मिलन अमात्य आदि गायक–गायिकाको गीतका भिडियोमा अभिनय गरिसकेकी छिन् । राजबल्लभ कोइराला, दिलीप रायमाझी आदि अभिनेतासँग अनस्क्रिन रोमान्स गरिसकेकी सुनिक्षा निकट भविष्यमै चलचित्र अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदै छिन् । ‘नेपालबाट आएका केही निर्माता–निर्देशकले अमेरिकामै छायांकन हुने नेपाली चलचित्रमा अभिनय गर्ने प्रस्ताव राख्नु भएको छ, सुनिक्षा भन्छिन्– ‘सम्भवत: म सन् २०१८ भित्रै सिल्भर स्क्रिनमा देखिनेछु ।’
शिक्षण पेसामा आबद्ध सुनिक्षा फुर्सदमा यात्रा तथा नृत्य गर्न रुचाउँछिन् । असल व्यक्तिका साथै कुशल अभिनेत्री बन्ने लक्ष्य लिएकी सुनिक्षा चित्रकलामा समेत पोख्त छिन् । पछिल्लो एक महिनामै तीनवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुनिक्षा विदेशमा रहेर पनि नेपाली कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने अवसर पाएकोमा दंग छिन् । केही अन्तर्राष्ट्रिय र्याम्पमा क्याटवाक समेत गरिसकेकी सुनिक्षा म्युजिक भिडियोमा काम गर्दै जाँदा अभिनयतर्फ आकर्षित भएको बताउँछिन् । साडी तथा वन पिसकी सौखिन सुनिक्षा सार्वजनिक समारोहमा सहभागी हुने क्रममा मात्र हेभी मेकअप गर्छिन् ।
कृष्ण भट्टराई
तस्बिर : बिक्रान्त श्रेष्ठ, नाम्लो इभेन्ट्स, अमेरिका
लोकेसन : वासिङ्टन डिसी, अमेरिका
मेकअप : प्रेट्टी पि कोलिन